तेस्रो मुलुकबाट आएको सामान अब सिधै चोभारमा

होमल्याण्ड खबर

२०७५ भाद्र ८ गते, शुक्रबार १३:४३ मा प्रकाशित

तेस्रो मुलुकबाट ल्याइएका सामानका कन्टेनर अब सिधै काठमाडौको चोभारमा अनलोड हुने भएका छन् ।

चोभारस्थित हिमाल सिमेन्टको जग्गामा सरकारले निर्माण गर्न लागेको सुक्खा बन्दरगाहमा तेस्रो मुलुकबाट ल्याइएका सामान सिधै झार्ने व्यवस्था गर्न लागिएको हो । बन्दरगाहबाट छिमेकी मुलुक भारत, चीन लगायतका मुलुकबाट बढ्दो आयात तथा ति मुलुकमा निर्यात गर्न सहज हुने अपेक्षा छ ।

चिनियाँ कम्पनी जियानाया सानक्सी रोड एण्ड ब्रिज र नेपाली निर्माण कम्पनी लुम्बिनी कोशी न्यौपाने जेभीले निर्माणको जिम्मा लिएका छन् । सरकारले सुक्खा बन्दरगाह निर्माणका लागि १ अगष्टदेखि दुई कम्पनीलाई ठेक्का दिइसकेको छ । दुई वटा कम्पनीले बन्दरगाह निर्माणको काम अगाडि बढाइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले सुक्खा बन्दरगाहको निर्माण कार्य सुरु भएको जानकारी दिए । “नेपाली र चाइनिज कम्पनीलाई निर्माणको ठेक्का दिएका छांै,” उनले भने, “निर्माण कार्य सुरु भएको १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।”

बस्नेतका अनुसार कोलकाता र विशाखापट्टनम बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने मालवाहक कन्टेनर वीरगन्जमा चेकजाँच भएर आउँदा धेरै समय र लागत लाग्ने गरेको छ । “अब बीचमा कुनै चेकचाँज नभइ सिधै चोभारमा सामान आउने हुँदा लागत र समय बचत हुने भएकाले व्यापार सहजीकरणमा यो कोशेढुंगा हुनेछ,” उनले भने । चोभारमा बन्न लागेको बन्दरगाहबाट भन्सारको अतिरिक्त अवरोध, लागत खर्च र समय बचत हुनेछ । तातोपानी र रसुवागढीमा बन्न लागेको बन्दरगाहमार्फत चीनको केरुङ र सिगात्सेबाट आउने कन्टेनर पनि सिधै यो बन्दरगाहमा ल्याउन सकिने उनको भनाइ छ । विश्व बैंकको १ अर्ब ४४ करोड सहयोगमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहमा २ सय ५० वटा कन्टेनर पार्किङको व्यवस्था गर्न लागिएको छ ।

अत्याधुनिक प्रविधिसहित निर्माण गर्न लागिएको बन्दरगाहमा भन्सार कार्यालय, इन्टरमोडल कार्यालय, बैंक, प्लान्ट तथा लाइभस्टक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष, मालवाहक कन्टेनर र ट्रक लोड अनलोड गर्ने सेडको व्यवस्था गरिनेछ । बन्दरगाहमा ६ सय ५० को हाराहारीमा २० र ४० फुटको कन्टेनर तथा २ सय ५० को हाराहारीमा मालवाहक ठूला ट्रक पार्किङको सुविधा रहने जनाइएको छ ।

“अहिलेसम्म काठमाडौंका लागि आउने कन्टेनर वीरगन्जमै शिल तोडेर जाँच गर्नुपर्ने बाध्यता छ,” समितिका कार्यकारी निर्देशक बस्नेतले भने, “चोभारको बन्दरगाह निर्माण भएपछि भारतको बन्दरगाह र चीनको बन्दरगाहबाट काठमाडौं आउने कन्टेनरको शिल काठमाडौंमै तोडेर जाँचपास गर्ने व्यवस्था हुनेछ ।” आगामी २० वर्षलाई लक्षित गरेर निर्माण गर्न लागेको बन्दरगाहबाट छिमेकी मुलुक भारत र चीनमा हुने व्यापारलाई सहजीकरण गर्ने उनको भनाइ छ । चीनबाट आउने रेल र फाष्टट्रर्यालाई लक्षित गरेर बन्दरगाह निर्माण गर्न लागिएको समितिले जानकारी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विकास समितिले यो स्टेसन निर्माण गर्न लागेको हो । सरकारले बन्दरगाह निर्माणका लागि हिमाल सिमेन्टको १ हजार ५४ रोपनी जग्गा उपलब्ध गराएको छ । यसमध्ये २ सय १० रोपनीमा बन्दरगाह र बाँकी क्षेत्रफलमा बन्दरगाहको अगाडि अत्याधुनिक अन्तर्र्रािष्ट्रय प्रदर्शनी केन्द्र निर्माण गरिने छ । प्रर्दशनी केन्द्रका लागि गुरुयोजना तयार भइसकेकाले आवश्यक लगानी खोज्ने काम भइरहेको समितिले जानकारी दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७०(७१ को बजेट वक्तव्यमार्फत हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्र्रािष्ट्रयस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो । हिमाल सिमेन्ट कारखानाको जग्गा सरकारको स्वामित्वमा ल्याउन करिब दुई वर्ष लागेको थियो । यस्तै तेस्रो मुलुकबाट आयात हुने सामानका लागि छुट्टै र नेपालका विभिन्न स्थानबाट आउने सामानका लागि छुट्टै यार्ड र पाँचवटा वेयरहाउस निर्माण गरिने छ ।