२४ जेष्ठ २०८३, आईतवार
बर्खा लगत्तै मेलम्चीको पानी फेरि काठमाडौं उपत्यकाबासीका घर-घरमा पुर्याउने योजनामा धक्का पुगेको छ
साउन अन्तिम साता आएको बाढीले अस्थायी संरचनाहरू पुरिएकाले अब तिनको निरीक्षणपश्चात् मात्र कहिले पानी काठमाडौं आउँछ भनेर भन्न सकिने मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले बताएका छन्।


तीस अर्बभन्दा बढि रुपैयाँ खर्च गरेर बनेको मेलम्ची खानेपानी आयोजनाले बनेको दुई वर्ष बितिसक्दा पनि स्थायित्व पाउन सकेको छैन। २०७८ सालको बर्खाको सुरुमै विनाशकारी भेलबाढीबाट गम्भीर क्षति पुगेको मेलम्ची त्यसयताका दुई वर्ष बर्खाको चार पाँच महिना अवरुद्ध नै रहने गरेको छ ।
दुई वर्ष अगाडिको उक्त बाढीका कारण मेलम्ची नदीको पानी सुरुङभित्र पसाउने बाँधसहितको सम्पूर्ण हेडवर्क्स भनिने संरचना पुरिएको थियो। त्यसको मर्मत गर्न समेत नसकिने अवस्थाका कारण छुट्टै अस्थाइ संरचना बनाएर मुख्य सुरुङमा पानी पठाउने अनि बर्खाका बेला बन्द गर्ने गरिएको थियो।
तर यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थार्इ संरचनाको क्षेत्र क्षतिग्रस्त भएको बताइएको छ। अस्थाइ संरचनाबाट सानो सुरुङ मार्फत मुख्य सुरुङमा पानी पठाउँदै आइएकोमा यसपाली सानो सुरुङको गेट नम्बर १ वरपर पनि क्षति भएको ठानिएको छ
अब बर्खा सकिनासाथ उक्त क्षेत्रको प्राविधिक निरीक्षण गरिने बताइएको छ । हेडवर्क्सको क्षतिग्रस्त संरचना पुनस्निर्माण नभइकन अहिले मेलम्चीमा देखिरहेको समस्याको दिगो समाधान हुने छाँटकाँट देखिँदैन।
विस्तृत डिजाइन, खरिद प्रक्रिया र ठेक्कापट्टा गर्न त्यति समय लाग्ने र त्यतिञ्जेल अस्थाइ किसिमले नै नदीमा सङ्लो पानी बगेको बेलामा प्रयोगमा ल्याउने योजना रहेको उनले सुनाए।
गत वर्ष नै एसियाली विकास ब्याङ्कको सहयोगमा एक क्यानडेली कम्पनीले गरेको अध्ययनले अहिलेको हेडवर्क्सलाई नै फेरि बनाउने हो भने १२ देखि १३ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने र त्यति गर्दा पनि भविष्यमा ढुक्क हुनसक्ने अवस्था नरहेको ठहर गरेको मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूले केही महिना अगाडि जानकारी दिएका थिए।
लगभग ४ सय देखि ५ सय मिटर सुरुङ निर्माण गर्न र सानो बाँध निर्माण गर्न ३ देखि ४ अर्ब रुपैयाँ लाग्न सक्ने समितिको अनुमान रहेको र उक्त संरचनामा लगानी गर्न एसियाली विकास ब्याङ्क इच्छुक रहेको समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए ।