१७ कार्तिक २०८३, सोमबार
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार सम्पन्न अत्यन्तै रोमाञ्चक खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले हराएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको काठमान्डु गोर्खाजले भने १९.४ ओभरमा केवल ६ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो ।
जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो हार हो भने काठमान्डु गोर्खाजको पहिलो जीत ।
काठमान्डु गोर्खाजका लागि रासिद खानले उत्कृष्ट अर्धशतकीय पाली खेले । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ५० रन बनाए ।
प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका रासिद खानले केवल ३३ बलमा दुई छक्का र तीन चौका पनि प्रहार गरे ।
कप्तान करण केसी काठमान्डुको जीतमा वास्तविक नायक बने । उनले ४४ रन बनाए । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले आक्रामक रुपमा ब्याटिङ गर्दै २० बलमा तीन छक्का र चार चौका हिर्काए ।
मोहम्मद आदिल आलमले २७ बलमा एक छक्काको मद्दतले २० रन जोडे । ओपनर डेभिड वार्नरले पनि १० बलमा तीन चौकाको मद्दतले १६ रन बनाए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका जहाँदाद खानले पनि गजबको प्रदर्शन गर्दै अविजित २२ रन बनाए । उनले केवल १० बलमा दुई छक्का र एक चौका प्रहार गरे ।
सन्तोष यादव पाँच रनमा अविजित रहे । कर्णाली याक्सका बलर सोमपाल कामी र हुसैन तलतले दुई–दुई विकेट लिए । मार्क वाट र नन्दन यादवले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, कर्णालीका लागि ओपनर अरिफुल ईस्लामले ४४ रनको योगदान गरेका थिए । बंगलादेशका २१ वर्षीय दायाँहाते ब्याट्सम्यान अरिफुलले केवल २२ बलमा तीन र पाँच चौका प्रहार गरे ।
साहब आलमको बलमा अस्ट्रेलियन स्टार डेभिड वार्नरद्वारा क्याच भएपछि उनी अर्धशतक पूरा गर्नबाट चुकेका थिए ।
कर्णालीका लागि हुसेन तलतले पनि ४० रनको योगदान गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका ३० वर्षीय पाकिस्तानी खेलाडी तलतले केवल ३० बलको सामना गरी दुई छक्का र एक चौका हिर्काए ।
पाँचौँ नम्बरका ब्याट्सम्यान पवन सर्राफले पनि टोलीको खातामा अविजित ३० रन थपे । उनले २४ बलको सामना गरी दुई छक्का हिर्काए ।
सातौँ नम्बरमा क्रिज समाल्न आएका गुलसन झाले पनि टोलीका लागि २० रनको योगदान गरे । उनले केवल १२ बलमा दुई छक्का चौका प्रहार गरे ।
कप्तान सोमपाल कामी एक रनमा अविजित रहे । मार्क वाटले १७ र ओपनर जिसन आलमले सात रन बनाए । विकेटकिपर ब्याट्सम्यान दिपक डुम्रे पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।
काठमाडान्डु गोर्खाजका बलर करण केसीले दुई तथा साहब आलम, जहाँदाद खान, देव साह र सन्तोष यादवले एक–एक विकेट लिए । कर्णालीले अतिरिक्त रुपमा पनि १३ रन पायो ।