९ मंसिर २०८१, आईतवार
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगका लागि विश्व बैंकसमक्ष अनुरोध गरेका छन् । विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे खतिवडाले शुक्रबार छलफल गरेका हुन् ।
कोभिड–१९ को असर कम गर्न विश्व बैंकको सहयोगप्रति खतिवडाले धन्यवाद व्यक्त गरे । भिडियो कन्फरेन्समार्फत भएको छलफलमा नेपालले आगामी दिनमा स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजना कार्यान्वयनमा जोड दिएको र त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताउँदै सहयोगका लागि खतिवडाले अनुरोध गरेका हुन् ।
कोभिड–१९ ले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको र थप पार्न सक्ने प्रभाव, कोभिड नियन्त्रणमा सरकारले हालसम्म चालेका कदम तथा विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । छलफलमा विश्व बैंकका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहेको र दक्षिण एसियामा उत्कृष्ट भएको बताए ।
नेपाल जस्ता कम विकसित मुलुकले सामना गरिरहेको आर्थिक स्रोतका अभाव परिपूर्ति गर्न हालको स्रोत पर्याप्त नहुने र त्यसलाई वृद्धि गर्न वित्तीय ऋणको तिर्नुपर्ने साँवाब्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकले डेभिड मालपासको सक्रियतामा विभिन्न दाता सदस्य राष्ट्रसँग पहल गरिरहेको उनको भनाइ छ । उक्त अभियानमा उनले अर्थमन्त्री खतिवडासँग समेत सहयोग मागेका थिए । कोभिड–१९ को महामारी सामान्य भएपछि नेपालको अर्थतन्त्र पनि सामान्य अवस्थामा फर्किने सेफरले बताए ।