३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको उद्घाटनसत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन् । बिहीबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिका उम्मेदवारलाई मात्र बोल्न दिएर पक्षपात गरिएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
उनीहरुले मन्तव्यका लागि समय दिँदा नेताहरुको मर्यादाक्रम नमिलाएको, उम्मेदवारी दर्ताका लागि महंगो शुल्क तोकिएको पनि आरोप लगाएका छन् ।


सभापतिका उम्मेदवारलाई मात्र बोल्न दिइएको भन्दै संस्थापन इतरका नेताले नाराबाजी गरेका हुन् । पूर्व मन्त्रीसमेत रहेका महादेव गुरुङले मञ्चमै उक्लिएर गोपालमान श्रेष्ठतर्फ इंगित गर्दै कार्यक्रम चल्न नदिने चेतावनी दिएका थिए । गुरुङले कार्यक्रममा एक पक्षका उम्मेदवारलाई मात्र बोल्न दिइएको र उम्मेदवारी शुल्क पनि महंगो राखिएको भन्दै विरोध गरेका थिए ।
उम्मेदवारी शुल्क महंगो राखेर कांग्रेसलाई व्यापारीको पार्टी बनाउन लागिएको उनको आरोप थियो । प्रदेश सभापतिमा उम्मेदवारी दिन ९१ हजार शुल्क तोकिएको छ । जबकी विधानअनुसार सभापतिका लागि १५ हजार, महामन्त्रीका लागि ११ हजार र ५ हजार शुल्क तोकिएको छ । तर, गण्डकी प्रदेशमा सभापतिका लागि ९१ हजार, उपसभापतिका लागि ६१ हजार, महामन्त्रीका लागि ५१ हजार, सहमहामन्त्रीका लागि ४१ हजार र सदस्यका लागि ३१ हजार उम्मेदवारी शुल्क तोकिएको छ । केहीबेर नाराबाजी चलेपछि फेरि बोल्ने क्रम सुरु भएको छ ।