कांग्रेस महाधिवेशन: सुरक्षाका लागि ५ हजार बढी प्रहरी परिचालन

होमल्याण्ड खबर

२०७८ मंसिर २४ गते, शुक्रबार १२:४४ मा प्रकाशित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी खटाइएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले बताएको छ ।

महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

त्यस्तै, महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको बताए ।

अघिल्ला दिनहरुको तुलनामा काठमाडौं उपत्यकामा भित्रिने सवारी साधनहरुको संख्या बढेको छ । त्यसैले चक्रपथ तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाका, प्रतिनिधिहरु बसेको क्षेत्र, भीभीआईपी र भीआईपी रुटहरुमा पनि निगरानी बढाइएको छ । त्यसका लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै सीसीटीभी क्यामराबाट पनि निगरानी गरिएको प्रहरीले जनाएको छ ।

रुट व्यवस्थापनका लागि ट्राफिक प्रहरी मात्रै ३५० बढी परिचालन गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए । कार्यक्रमस्थलमा ट्राफिक जाम नहोस् भनेर पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट डाइभर्सन गरिएको छ ।