९ मंसिर २०८१, आईतवार
राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । यसबीच राष्ट्र बैंकले मौद्रिक नीतिमा अवश्यकता हेरेर नीतिगत दरहरू फेरबदल पनि हुन सक्ने जनाएको छ । मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।
हाल नीतिगत ब्याजदर ७ प्रतिशत छ भने बैंकहरूलाई सापट दिने दर ७.५ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असार महिनामा तरलता बाहेक पनि ८८ अर्ब ५४ करोड पुँजी छ। राष्ट्र बैंकले अहिले बैंकबाट ६० अर्ब तरलता खिचेको छ । पुनर्कजा १ अर्ब ५६ करोड लगानीमा छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंकहरूलाई ९७ खर्ब तरलता दिएको छ ।बाह्य क्षेत्रमा अहिले नसोचेको सुधार भएको गर्भनर अधिकारीको भनाई छ । तर, बैंकको कर्जा असुलीमा केही न केही समस्या परेको र व्यवसायमा शिथिलता आएकोले यो अवस्थालाई पनि सहजीकरण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
गभर्नर अधिकारीले चालु खाता घाटा गम्भिर रूपमा देखिएकोले त्यसलाई जोगाउनु पर्ने अवस्था रहेको पनि बताए । विश्वका धेरै मुलुकले नीतिगत ब्याजदर कसिलो नै राखेको, केहीले यस्तो दर बढाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।
कोभिडकालिन समयमा बढी कर्जा लिएका व्यवसायीलाई अहिले दायित्व धेरै भएकोले पनि पछिल्लो समय कर्जा कम गएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठको भनाई छ ।
स्थानीय तहको रकम राष्ट्र बैंकले खिचेपछि बैंकहरूले एक अर्काबीच सापट लिने दर बढेर ६.५ प्रतिशत पुगेको उनले बताए । अहिले जोगाएको विदेशी मुद्राको सञ्चिति बचाउनु पर्ने अवस्था रहेको बताए ।
यस्तै, अर्थसचिव अर्जुन प्रसाद पोखरेलले सरकारले बाह्य क्षेत्रको दबाब कम गर्न समन्वयात्मक भूमिका निर्वाह गर्न तयार रहेको भएपनि सरकारलाई समेत स्रोतको अभाव देखिएकोले दुवैपक्ष मिलेर जानुपर्ने बताए ।