दिल्ली मेलामा नेपाली उत्पादन लोकप्रिय

होमल्याण्ड खबर

२०७५ मंसिर २ गते, आईतवार १२:२० मा प्रकाशित

भारतको राजधानी दिल्लीमा जारी अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिता जनाएका नेपाली उत्पादनका स्टलमा अवलोकनकर्ताको निकै भीड लागेको बताइएको छ ।

इन्डिया ट्रेड प्रमोशन अर्गनाइजेसनको आयोजनामा नयाँ दिल्लीको प्रगति मैदानमा बुधबारदेखि आयोजित १४ दिने भारतीय अन्तर्राष्ट्रिय मेलामा नेपालका तर्फबाट विभिन्न घरेलु उत्पादनका सातवटा स्टल रहेको र १० वटा व्यावसायिक फर्मले सहभागिता जनाइरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (त्भ्एऋ) का उपनिर्देशक सिद्धिचरण दाहालले जानकारी दिएका छन् । मेलामा नेपाल फोकस कन्ट्रीका रूपमा छ भने अफगानिस्तान पार्टनर कन्ट्रीको रूपमा छ ।

मेलामा नेपालका तर्फबाट काष्ठकलाका सामग्री, सोभिनियर खुकुरी, धातुबाट निर्मित सामग्री, पश्मिना, हस्तकलाका सामग्री, लुपम्याट (डोरम्याट), थाङ्का आर्टका घरेलु सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको दाहालले बताए । “महोत्सवको दोस्रो दिन नेपाली स्टलमा अवलोकनकर्ताको उत्साहजनक भीड देखियो,” दिल्लीमै रहेका दाहालले भने, “स्टलमा नेपाली सामग्री निकै आकर्षक र मनमोहक पनि देखिएका छन् ।”

विश्वबजारमा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनमा सरकारी स्तरबाट संयोजनकारी भूमिका निर्वाह गर्दै आइरहेको व्यापार तथा निकासी केन्द्रकै व्यवस्थापनमा नेपाली उत्पादनले सो मेलामा सहभागिता जनाइरहेका छन् भने दिल्लीस्थित नेपाली दूतावासले नेपाली स्टलमा सहजीकरण गरिरहेको दाहालले बताए ।
प्रगति मैदानमा भव्य समारोहकाबीच बुधबार भारतका केन्द्रीय वाणिज्य एवं उद्योगमन्त्री सीआर चौधरी र केन्द्रीय संस्कृति राज्यमन्त्री डा. महेश शर्माले संयुक्त रूपमा मेलाको उद्घाटन गरेका थिए । मेलामा आयोजक भारतलगायत विश्वका १९ राष्ट्रले सहभागिता जनाएका छन् भने आठसय स्टल रहेका छन् ।

अन्तर्राष्ट्रिय पेभेलियनको ९ र १० नं. हलमा नेपाललगायत चीन, हङकङ, म्यानमार, अफगानिस्तान, इरान, नेदरल्यान्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, थाइल्याण्ड, टर्की, ट्युनिसिया, भियतनाम, यूएईजस्ता मुलुकको स्टल रहेको छ । मेलामा सहभागी मुलुकबाट घरायसी सामान, विद्युतीय सामग्री, जुटजन्य वस्तु, कपडा, कस्मेटिक सामान, गरगहना, मेसिनरी सामग्री, कृषिजन्य वस्तु, स्वास्थ्यसम्बन्धी उपकरण, छाला तथा छालाजन्य सामग्री, इलेक्ट्रिक सामान प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।

भारतीय अन्तर्राष्ट्रिय व्यापार मेलाको यो ३८ औं संस्करण हो । दुईसाता चल्ने मेलामा नेपाली उत्पादन उल्लेख्य रुपमा बिक्री हुने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली उत्पादनको प्रचार–प्रसार र प्रवद्र्धन हुने विश्वास रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक शरदविक्रम राणाले बताए । “यस किसिमको व्यापारिक जमघटमा नेपालजस्तो विकासोन्मुख राष्ट्रले आफ्नो उत्पादन, वस्तुहरु प्रदर्शन गर्न पाउनुले नेपालको निर्यात व्यापारले फड्को मार्न सक्छ ।”
व्यापार महोत्सवको अवसरमा नेपाली लोकसंस्कृति र कलाकारिताले पनि प्रदर्शित हुने मौका पाएको छ । नेपाली दूतावासको संयोजनमा महोत्सवको दोस्रो दिन बिहीबार नेपाली कलाकारले नेपाली संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेको दाहालले जानकारी दिए ।