सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ

होमल्याण्ड खबर

२०८१ जेष्ठ ७ गते, सोमबार १६:२५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभइ पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन् । उनले सभामुखको रूपमा नदेखेर पार्टीको कार्यकर्ताको रूपमा कुर्सीमा देखेको टिप्पणी गरे ।

“आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर, कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, सदनमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । सदनमा नेपालको इतिहासमा नै पहिलोपटक होला कि सदनमा यसरी प्रमुख प्रतिपक्षलगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको,” उनले भने ।

बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको प्रमुख सचेतक शाहीको भनाइ थियो ।