९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमासम्बन्धी निर्देशन जारी गर्दै अब १० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाइने प्रस्ताव गरेको छ । सुझावका लागि बनाएको मस्यौदामा राष्ट्र बैंकले एक पटकमा ५ हजार र दिनभरिमा १० हजार रुपैयाँसम्म मात्र मोबाइल बैंकिङ कारोबार गर्न सकिने प्रस्ताव गरेको हो । सुझावका लागि १५ दिनको समय दिँदै राष्ट्र बैंकले आएका सुझाव उपयुक्त लागे प्रस्तावित मस्यौदामा हेरफेर गरेर निर्देशन जारी गर्ने पनि जनाएको छ ।
मासिक ५० हजारसम्म कारोबार गर्न पाइने प्रस्ताव गर्दै राष्ट्र बैंकले निर्देशनमा इन्टरनेट बैंकिङबाट दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने तर यसको मासिक सीमा ५ लाख रुपैयाँ तोकिएको जनाएको छ । इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्दा एक पटकमा अधिकतम एक लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँ मात्र गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
भुक्तानी सेवा प्रदायकबाट सञ्चालित इवालेट वा डिजिटल वालेट सेवाको माध्यमबाट पनि रकम राख्नेबारे मस्यौदामा उल्लेख गर्दै राष्ट्र बैंकले यस्ता वालेट सञ्चालन गर्ने संस्थाको एजेन्ट वा सवएजेन्टमार्फत वालेटमा एक पटकमा पाँच हजार रुपैयाँ नगद जम्मा गर्न सकिने जनाएको छ ।
बैंकमा रहेको खाताबाट वालेटमा रकम पठाउन वा एउटा वालेटबाट अर्कोमा प्रतिकारोबार ५ हजार रुपैयाँसम्म सार्न सकिने तथा यसरी सार्दा दैनिक सीमा भने १५ हजार तोक्दै राष्ट्र बैंकले बैंकहरूले नै चलाएको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म सार्न सकिने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले वालेटमा रहने अन्तिम मौज्दातको अधिकतम सीमा पनि २५ हजार प्रस्ताव गरेको छ ।
यस्तै, भुक्तानी सेवा दिनेहरूले सञ्चालन गरेको एटिएमजस्ता उपकरणबाट वस्तु तथा सेवाको बिल भुक्तानी गर्दा प्रतिकारोबार १०० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म र प्रतिदिन १५ हजार रुपैयाँसम्म मोबाइल रिचार्ज, टेलिभिजन तथा इन्टरनेट भुक्तानीका लागि टपअप गर्न सकिने राष्ट्र बैंकको प्रस्ताव छ ।
रेमिट्यान्स भुक्तानी रकमको सीमा १ लाखमा झार्दै राष्ट्र बैंकले एक लाखभन्दा बढी भुक्तानी गर्नुपरे बैंक खातामार्फत गर्नुपर्ने जनाएको छ । यस्तै, राष्ट्र बैंकले डेबिट कार्डबाट दैनिक एक लाख रुपैयाँ मात्र झिक्न सकिने तथा एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न मिल्ने प्रस्ताव गरेको छ ।