३० कार्तिक २०८१, शुक्रबार
चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीले यसपालि आफ्नो पहिलो विदेश भ्रमण भारतमा नगर्ने भएका छन् । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड जाने भएपछि भारत छुट्ने भएको हो ।
नेपालमात्रै होइन भारतसँग मित्रवत सम्बन्ध बनाएका साना दक्षिण एसियाली देशहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको पहिलो विदेश भ्रमण भारत हुने चलन रहिआएको छ । यो लिखित नियम त होइन, तर चलिआएको चलन हो ।
नेपालको छिमेक पहिलो भ्रमण गर्ने कुनै लिखित नियम छैन । न छिमेकीहरुसँग गरिएको त्यस्ता कुनै सम्झौता नै छन् । नेपालका शासकहरुको तर्फबाट भएको पहिलो विदेश भ्रमण बेलायत थियो । सन् १८५० मा जंगबहादुर बेलायत र फ्रान्स पुगे । सन् १९०८ मा चन्द्रशमशेर बेलायत, फ्रान्स, इटाली र स्विटजरल्याण्ड पुगे ।
नेपालको पहिलो कूटनीतिक सम्बन्ध नै बेलायतसँग सन् १८१६ मा भएको थियो । नेपालको दोस्रो कूटनीतिक सम्बन्ध अमेरिकासँग भएको थियो । त्यसपछि मात्रै भारतसँग भयो । चीनसँग त नेपालको सम्बन्ध फ्रान्सपछि भएको थियो ।
नेपालको यस्तो खालको इतिहास रहेकोले नेपालका नेताहरुले छिमेकमै पहिलो भ्रमण गर्ने कुनै बाध्यकारी चलन नभएको बताउँछन् पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे । उनले आवश्यकताअनुसार भ्रमण हुने भन्दै त्यसले छिमेकीलाई असहज पनि नहुने बताए ।
यस्तै पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई पनि पाण्डे जस्तै तर्क गर्छन् । नेपालमा छिमेकहरु खासगरी भारतभन्दा पहिले कुन देश भ्रमण भयो वा भएन भन्नेले केही अर्थ नराख्ने उनी बताउँछन् ।
भारत वा चीनमा पनि यस्तो चलन नभएको बताउँदै उनी भन्छन्, ‘भ्रमण भएको प्रथम कि दोस्रो भन्नेले कुनै अर्थ राख्दैन ।’
यद्यपि भारत पहिले भ्रमण गर्ने यो चलन बेलाबेलामा क्रमभङ्ग हुँदै आएको छ । त्यस्तो क्रमभङ्गको श्रृङ्खला नेपालमा लामो समयदेखि चल्दै आएको छ । यहाँ श्रृङ्खलाबारे चर्चा गरिएको छ ।