९ मंसिर २०८१, आईतवार
नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया बैंकलाई ३ अर्ब रुपैयाँबराबरको डिबेञ्चर निष्कासन अनुमति दिएको छ । बोर्डले शुक्रबार बैंकलाई डिबेञ्चर निष्कासन अनुमति दिएको हो । बोर्डले बैंकको ‘एनआईसी बैंक बन्ड २०८१-८२’ नामको डिबेञ्चर निष्कासन गर्नका लागि अनुमति दिएको हो । बैंकको डिबेञ्चरमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ९ प्रतिशत पाउने नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । “७ वर्षपछि लगानीकर्ताको साँवा फिर्ता गर्ने गरी निष्कासन गर्न लागेको डिबेञ्चर बैंकले आफ्नो नियमित बिजनेस तथा सप्लीमेन्ट्री क्यापिटलका लागि निष्कासन गर्न लागेको जनाएको छ,” उनले भने । त्यसका साथै नेपाल राष्ट्र बैंकले तोकेको क्यापिटल रिक्वायरमेन्टका लागि पनि निष्कासन गर्न लागेको उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) कायम गर्नका लागि बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चरमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबर अर्थात् ८० प्रतिशत परिपत्र विधिबाट संघसंस्थाका लागि छुट्टयाइएको छ । बाँकी २० प्रतिशत अर्थात् ६० करोड रुपैयाँबराबरको सर्वसाधारणका लागि हुनेछ । सोमध्ये कुनै एक पक्षको पूरा बिक्री नभएमा अर्को पक्षलाई बिक्री गर्नेछ । ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि प्रतिकित्ता १ हजार रुपैयाँका दरले निवेदन दिन सक्छन् भने अधिकतम १० ले निशेष भाग जाने निष्कासित कुल रकमसम्म निवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनसम्बन्धी बैंकले नबिल इन्भेस्टमेन्टसँग सम्झौता गरिसकेको छ । सो डिबेञ्चर जारी गर्दा ट्रस्टीका रूपमा नबिल इन्भेस्टमेन्ट मर्चेन्ट बैंकिङ छ । साथै डिबेञ्चर निष्कासन कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा पनि नबिल इन्भेस्टमेन्ट नै छ ।
कुनै पनि कम्पनीले डिबेञ्चर जारी गर्नका सेयर पुँजीको सम्पूर्ण पुँजी चुक्ता भइसकेको तथा जारी पुँजी पनि पूर्ण रूपमा चुक्ता भएको हुनुपर्छ । साथै कम्पनीको साधारणसभाले निर्णय गरेको र ट्रस्टीको नियुक्ति गरेको हुनुपर्ने लगायतका व्यवस्था पूरा गरेको हुनुपर्छ ।