८ मंसिर २०८१, शनिबार
आज भाद्रकृष्ण औंशी अर्थात् कुशे औंसी पर्व हो । हिन्दु धर्मशास्त्र अनुसार वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याएर कुशे औँशी मनाउँदैछन् ।
आजको दिन कुश घरभित्र राख्दा परिवारको कल्याण तथा घर पवित्र हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।
पितृसम्मान दिवस
यस्तै आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।
बुवाको सम्मान गर्दै मिष्ठान्न भोजन तथा उपहार दिई मुख हेर्ने पनि गरिन्छ । बुवा नहुनेहरुले पितृको तृप्ती तथा कल्याणको कामना गर्दै काठमाडौको गोकर्णमा रहेको गोकर्णेश्वर मन्दिरमा गई श्राद्ध तर्पण गर्ने पनि चलन छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ । यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।
मोतीराम जन्मजयन्ती
आज नै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । आजै मोतीराम जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विक्रम सम्बत् १९२३ साल भाद्र कुशे औंशीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कुशे औंसीकै दिन निधन भएका मोतीराम भट्ट माध्यमिक कालीन नेपाली साहित्य र श्रृंगारिक धारका प्रवर्तक मानिन्छन् ।
भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । उनले कबिता, गीत, गजल, नाटक र गद्य लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना समेत शुरुवात गरेका थिए ।