२९ कार्तिक २०८१, बिहीबार
पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले बुधबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागे पनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।’कोष सञ्चालक परिषदका अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ ।
कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाउनुभयो । अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताउनुभयो । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।