शून्य समयको कांग्रेस : गच्छादार प्रकरणमा अंक थप्ने अस्वस्थ्य आन्दोलनमा

होमल्याण्ड खबर

२०७६ माघ २४ गते, शुक्रबार १०:३९ मा प्रकाशित

नेपाली कांग्रेसको पदाधिकारी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छादारलाई भ्रष्टाचार अभियोगमा डामेपछि आन्दोलनमा उत्रिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार शुक्रबार कांग्रेसका भगिनी संगठनले माइतिघर मण्डलामा प्रदर्शन र विरोधको आयोजना गरेका छन् । कडा कडा अभिव्यक्ति पनि दिन थालेका छन् । बालुवाटारको ललितानिवास प्रकरणमा सत्ताधारी पार्टीका नेतालाई पनि डाम्नुपर्ने अथवा गच्छादारलाई पनि डाम्न नहुने ‘अमूर्त’ मागमा कांग्रेस आन्दोलनमा छ ।

विहीबार उसले सदनको काम कारबाही पनि रोकेको थियो । सो रोक्ने क्रममा गच्छादार भ्रष्टाचारी होइनन् भन्ने आशयमा प्रमुख सचेतक पुष्पा भुसालले अभिव्यक्ति दिएकी थिइन् । तर पत्रकार सम्मेलन गरेर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने गच्छादार हुन् भने तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, जग्गा खरिद गरी फिर्ता गर्ने नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई पनि अख्तियारले मुद्दा लगाउनुपर्ने माग गरेका थिए ।

शून्य समयको कांग्रेसका विभिन्न नेताका आधिकारीक भनाईमा नै विरोधाभाष देखिएको कतिपयले टिप्पणी गरेका छन् । यी दुवै परम्परावादी दलभन्दा फरक रहेको साझा पार्टीले भने भ्रष्टाचारको अभियोग लागेका गच्छादार वा सो बेला निर्णयको भागीदार बनेका सत्तारुढ नेकपाका नेतालाई पनि कारबाही सिफारिस गर्नुपर्ने भन्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालयमा घेराउ राखेका छन् ।

अख्तियारको इतिहासमा नै गच्छादारलगायत १७५ जनाविरुद्ध उक्त प्रकरणमा अभियोग दर्ता भएको यो पहिलो पटक हो । सामाजिक अभियन्ताहरू भन्छन्,‘पक्षपातविहीन भएर संवैधानिक निकायले मुद्दा दायर गर्नुपर्छ । यसभित्रका तथ्यको खोजीनीति हुनुपर्छ ।’

गच्छादारको हकमा

खुमबहादुर खड्का, चिरञ्जिवि वाग्ले र गोविन्दराज जोशीलाई पनि अख्तियारले भ्रष्टाचार अभियोगमा डामेको थियो । यी सँगै जयप्रकाश प्रसाद गुप्ता पनि भ्रष्टाचार अभियोगमा दण्डित भएकै हुन् । अहिले आरोपपत्र मात्र दायर गरेका गच्छादारको पक्षमा कांग्रेस संस्थागत रुपमा उभिनुले उसको चरित्र उदाङ्गो भएको छ । कतिपय भन्छन्,‘राजनीतिक एजेन्डा नभएपछि कांग्रेसका लागि यो सदन अवरोध गर्ने र सडकमा जाने कारण बनेको छ ।’

०६४ अघि तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले कुनै पनि अवसर नदिएपछि गच्छादार तत्कालिन मधेसी जनाधिकार फोरम नेपालको बरिष्ठ नेताका रूपमा उपेन्द्र यादवको नेतृत्वको छहारीमा पुगेका थिए । त्यसबेला कांग्रेसले भनेको थियो– गच्छादार भ्रष्ट र नैतिकहिन मानिस हुन् ।

०७४ अघिको चुनावमा फेरि कांग्रेसमा प्रवेश गरेका गच्छादारका लागि कांग्रेस भनिरहेको छ,‘उनी इमान्दार, नैतिकवान र लोकतन्त्रका लागि मरिमेटेको मानिस हुन् ।’

प्रजातन्त्र प्राप्तिपछि विभिन्न पटक सत्तामा रहेका गच्छादारले अकुत सम्पत्ति आर्जन गरेको आरोप यसै पनि लाग्ने गरेको थियो । उनी हालसम्म १२ पटक मन्त्री पदको जिम्मेवारी पाइसकेका छन् । भ्रष्टाचारका आलगि आकर्षक मानिने सबैखाले मन्त्रालयमा उनको जिम्मेवारी रहेको थियो ।

कांग्रेसले अहिले गरिरहेको आन्दोलन राजनीतिक एजेन्डा नभएपछिको विकल्प रहेको कतिपयको टिप्पणी छ । यस्तो अवस्थामा राजनीतिक अंक जोड्न खोजे पनि त्यसले नागरिकको मन जित्न नसक्ने कतिपयले बताएका छन् । भ्रष्टाचारविरुद्ध तल्लो तहसम्म आवाज उठिरहेका बेला गच्छादारको बचाऊको माग गर्नु कांग्रेसका लागि घाटा हुने बताइएको छ । यसको उदाहरण भर्खरै मनोनित भएका नेवि संघका अध्यक्ष राजीव ढुंगानाले दिएको बयानबाजी पनि हो । उनले सदन अवरोध गर्नका लागि कांग्रेस सांसदलाई आह्वान गरेका छन् भने सडकमा नेवि संघ र तरुण दलले अवरोध गर्ने घोषणा गरेका छन् ।

उता अख्तियारलाई सरकारले प्रभावमा नपारेको भन्दै प्रवक्ता गोकुल बास्कोटाले गच्छादार निर्दोष भए अदालतबाट प्रमाणित भएर आउनका लागि चुनौति पनि दिएका थिए ।