माओवादी केन्द्रको प्रदेश १ मा पदाधिकारी चयनका लागि ७ बजेदेखि मतदान हुने

होमल्याण्ड खबर

२०७८ पुष ७ गते, बुधबार १६:४३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको हो ।

आज बुधबार साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २६९ जनाले मतदान गर्नेछन् ।

माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । धेरै आकांक्षी भएका कारण सहमतिबाट पदाधिकारी चयनको प्रयास असफल भएको थियो ।

९ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी छन् । अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ ।