माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

होमल्याण्ड खबर

२०७८ पुष ८ गते, बिहीबार १०:२२ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रदेश–१ अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । प्रदेश नेतृत्व तथा पदाधिकारीका लागि बुधबार भएको मतदानमा उनी १६९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी मुक्सामहाङ म्याङवोले ६४ मत प्राप्त गरे । नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।

यस्तै तीन उपाध्यक्षमा देवान चाम्लिङ (१२० मत), शिवकुमार डाँगी (११३ मत) र मणिकुमार साम्पाङ (१११ मत) विजयी भएका छन् । उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको थियो । सचिवमा गणेश उप्रेती सुशील १४८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी सीपी कडरियाले ८३ मत प्राप्त गरेका थिए ।

यसैगरी तीन सहसचिवमा कुमारी राई रचना (११४), ऋषिराम ढुंगाना कुसुम (९५) र सागर किराँती (७३) निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा रेवतराज पुरी गगन ९३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत प्राप्त गरिन । कोषाध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो ।

माओवादीले प्रदेश सम्मेलन मंसिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकांक्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन ।