‘एमसीसीकै कारण गठबन्धन टुट्दैन’: अध्यक्ष दाहाल

होमल्याण्ड खबर

२०७८ पुष ८ गते, बिहीबार १५:१३ मा प्रकाशित

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन। उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताएका हुन। प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन।

‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ उनले भने।

प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताएका छन।

एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताएका छन।