माधव नेपालसहित १४ सांसदविरूद्ध ओलीले दायर गरेको मुद्दा आज पेसीमा, सुनुवाई कहिले ?

होमल्याण्ड खबर

२०७८ पुष १२ गते, सोमबार १२:३० मा प्रकाशित

माधव कुमार नेपालसहित १४ सांसदविरूद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दायर गरेका को मुद्दाको आज पेसी चढेको छ । नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको मुद्दा आज पेसी चढेको हो ।

सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन । न्यायाधीश तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको यो मुद्दा मध्य भागतिर रहेकाले आजै सुनवाइ हुने नहुने निदो छैन ।

यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गते नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो । तर सभामुखले समयमै त्यसमा निर्णय नदिँदा एमाले फुटेको थियो । सोही प्रकरण देखाएर एमालेले संसद् पनि अवरोध गर्दै आएको छ ।