निर्वाचन आयोगले डाकेको सर्वदलीय बैठक सकियो, यी हुन् छलफलका विषयहरु

होमल्याण्ड खबर

२०७८ पुष ३० गते, शुक्रबार १५:३० मा प्रकाशित

निर्वाचन आयोगले डाकेको सर्वदलीय बैठक सकिएको छ । पालिकाको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय काठमाण्डौको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

बैठक केहीबेर अगाडि सक्किएको आयोगका प्रवक्ता शालीकराम शर्मा पौडेलले जानकारी दिए । आजको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको छ ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।