३० फाल्गुन २०८२, शनिबार
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको दाबी गरेको छ। बुधबार (माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो । राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो । आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन् ।
राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो । आयोगले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ ।


राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ ।
महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ । आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ ।