राप्रपा छाडेको कमल थापाको घोषणा

होमल्याण्ड खबर

२०७८ माघ २५ गते, मंगलवार १४:०२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।

पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएपनि सो मागका सन्दर्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले सुनुवाइ नगरेपछि पार्टीबाटै अलग हुने निर्णय लिएको बताएका छन् ।

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ’, थापाले भने ।

उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्ने कामना समेत गरेका छन् ।