प्रतिनिधिसभा बैठक भएलगत्तै एमालेको नाराबाजी

होमल्याण्ड खबर

२०७८ फाल्गुन ६ गते, शुक्रबार १३:४८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेले नाराबाजी थालेको छ । एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठकबाटै अवरोध गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमाले आक्रोशित हुँदै आएको हो ।

एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदको सूची टाँस गर्नुपर्ने, सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने लगायतका माग राख्दै आएको छ । संसद बैठक सुरु हुनुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एउटा मात्रै कार्यसूची तय गरेको छ ।

सरकारले भने आज अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्ने तयारी गरेको थियो । तर, सत्ता गठबन्धनमै सहमति जुट्न नसकेपछि आजको संसदको कार्यसूचीमा एमसिसी नपरेको हो ।

प्रधानमन्त्री देउवाले एमसिसी संसदमा टेबल गर्ने अडान लिएसँगै सत्ता गठबन्धन भत्कने संकेत बढ्दै गएको छ । प्रधानमन्त्री देउवाले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेसँगै अझै यो बहस चर्किएको छ ।

आजको बैठक अवरोध अन्त्यका लागि सभामुख सापकोटाले अनुरोध गरिरहेका छन् ।