१ चैत्र २०८२, आईतवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको तर यसअघि एमालेलाई न्याय मिल्नपर्ने सन्देश दिएका छन् । एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई भेट्न बुधबार विहान बालकोट पुगेका खाँणलाई ओलीले सो सन्देश दिएका हुन् ।
‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानून सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ एमाले अध्यक्ष ओलीले गृहमन्त्री खाँणलाई भने ।


एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज गृहमन्त्री खाँणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
सत्तारुढ पाँच दलमध्ये नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।