एमसीसी फेल भए त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुन्छ : रामचन्द्र पौडेल

होमल्याण्ड खबर

२०७८ फाल्गुन ११ गते, बुधबार १४:३२ मा प्रकाशित

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फेल भए त्यो नेपालका लागि दुर्भाग्यपूर्ण हुने समेत बताएका छन् ।

‘एमसीसी फेल भए मुलुक अनिश्चितताको बाटोतर्फ धकेलिन्छ, अनिष्ट पैदा हुन्छ, जो नेपालका लागि अत्यन्तै दुर्भाग्य हुन्छ,’ उनले भने, ‘संसद्‌मा पुगेको विषयलाई त्यहीँबाट दलहरूले छिटो निकास दिनुपर्छ ।’

उनले संसद्‍मा पेश भएको एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दल र विपक्षी दलसँग समेत संवाद भइरहेको भन्दै नेता पौडेलले कांग्रेस एमसीसीबाट पछि हट्न नसक्ने बताए ।

कांग्रेसले एमसीसीलाई फेल हुन दिँदैन । एमसीसी फेल गराएर देशलाई अनिष्टको बाटोमा जान दिँदैन,’ पौडेलले भने, ‘सकेसम्म सहमतिबाट अघि बढौँ भनेर छलफल भइरहेको छ, टुंगो लागेको छैन । तर, पास गर्नुको विकल्प छैन ।’

सत्ता साझेदार दलहरूले प्रस्ताव अस्वीकार गरे प्रधानमन्त्रीले विपक्षीको माग पूरा गर्नुपर्ने अवस्था आउन सक्ने समेत उनले बताएका छन् ।

नेता पौडेलले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विपक्षीका माग पूरा गर्छु भनेर अघि बढ्नुपर्ने अवस्थामा पुग्न बाध्य नपार्न आग्रह गरेको पनि बताए ।