कांग्रेस र एमालेबीच बालुवाटारमा दोस्रो चरणको वार्ता सुरू

होमल्याण्ड खबर

२०७८ फाल्गुन १२ गते, बिहीबार २०:०२ मा प्रकाशित

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच दोस्रो चरणको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस र एमाले नेताहरुबीच बैठक चलिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की लगायत छन् ।

त्यसैगरी एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल सहभागी छन् ।

फागुन १६ भित्र अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गराउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका छन् । उनले एमसीसी पारित गर्न एमालेका सबै मागमा छलफल गर्न खुला रहेको बताएका छन् ।

एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त हुनुपर्ने र त्यो नभए पनि सभामुख अग्नि सापकोटा हटाउन कांग्रेस तयार हुनुपर्ने माग गर्दै आएको छ ।

एमसीसी पारित गर्न एमालेको साथ र एमालेका माग सम्बोधनमा कांग्रेसको सहयोगको विषयमा रहेर बालुवाटारमा दोस्रो चरणको वार्ता भइरहेको नेताहरुले बताएका छन् ।

यसअघि संसद बैठक स्थगित गरेर प्रधानमन्त्री देउवाले संसद भवनमै प्रतिपक्षी दलका नेता ओलीसँग उनकै च्याम्बरमा गएर भेटेका थिए । भेटमा एमाले र कांग्रेसका नेताहरु पनि सहभागी थिए । उक्त वार्ता सकारात्मक भएको भन्दै सञ्चारमन्त्री कार्कीले फेरि साँझ बस्ने समझदारी भएको जानकारी दिएका थिए ।