अब बस्ने संसद् बैठकमा जबरामाथिको महाभियोगबारे छलफल हुने

होमल्याण्ड खबर

२०७८ फाल्गुन १८ गते, बुधबार १६:२१ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए। उनले नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए ।

त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिए।

उनले भने, ‘प्रतिनिधिसभाको आउने बैठकमा महाभियोग प्रस्ताव अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ, किन भने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिल समय लिइरहेका छौँ, अबको बैठकमा यसबारे छलफल हुन्छ ।’

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ । सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।