पार्टी केन्द्रीय समितिलाई पूर्णता दिने तयारीमा देउवा

होमल्याण्ड खबर

२०७८ फाल्गुन १९ गते, बिहीबार १५:३२ मा प्रकाशित

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट पारित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा बाँकी मनोनयनका लागि छलफलको थालनी गरेका छन् ।

नेपाली कांग्रेसको गत मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित देउवाले मनोनयन गर्न बाँकी कोषाध्यक्ष र केन्द्रीय सदस्य मनोनयनका लागि नेताहरूसँग छलफल अगाडी बढाएका हुन् ।
कांग्रेसमा अब एक पदाधिकारी (कोषाध्यक्ष) र २० सदस्य मनोनित गर्न बाँकी छ । सदस्यमा पार्टी विधान अनुरुप केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला पुर्‍याउनु पर्ने भएकाले २० मध्य १३ महिला मनोनित गर्नु पर्नेछ । १६७ सदस्यीय कार्यसमितिमा ५६ महिला भएपछि ३३ प्रतिशत पुग्छ ।

त्यसमा अहिले ४३ जना मात्रै छन् । विभिन्न कलष्टरबाट एक पदाधिकारीसहित ४१ निर्वाचित र दुई मनोनित गरी ४३ जना छन् । बाँकी ७ जना पुरुष छन् । ती मध्ये पनि विभिन्न कलष्टरबाट निर्वाचित गर्नुपर्ने बाध्यतामा देउवा छन् । सबैभन्दा धेरै कोषाध्यक्षमा देउवालाई गाह्रो छ । एकातिर महिला पदाधिकारीमा थोरै भएकाले महिलालाई कोषाध्यक्ष बनाउनु पर्ने दबाब छ भने अर्कोतिर महाधिवेशनमा पदाधिकारीमा आकांक्षा देखाएकालाई कोषाध्यक्ष मनोनयन गर्ने आश्वासन कार्यान्वयन गर्नुछ ।

त्यतिमात्र होइन, पार्टीमा योगदान पुर्‍याएका तर अहिलेसम्म पद नपाएकालाई पनि व्यवस्थापन गर्नुछ । बालुवाटार स्रोतका अनुसार, कोषाध्यक्षमा पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, महेश रिजालसहितका दर्जन बढी नेताहरूले आकांक्षा देखाएका छन् । तर, पार्टी कोषको परिचालन गर्ने र आफ्नो विश्वासमा चल्ने नेता चाहिने भएकाले वर्तमान सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रहेका केन्द्रीय सदस्य कार्कीलाई कोषाध्यक्षमा मनोनित गर्ने तयारीमा देउवा छन् ।

१४ औं महाधिवेशनमा खुल्ला ३५ तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्की महाधिवेशनमा महामन्त्रीको दाबेदार थिए । कार्की देउवाको ससुरालीतर्फका नातेदार पनि पर्छन् ।
केन्द्रीय सदस्यहरूमा भने ‘सर्ट लिस्टिङ’ गर्ने काम भइरहेको बालुवाटार स्रोतले बतायो ।