१ चैत्र २०८२, आईतवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा बहुमत ल्याउने लागि भूमिका खेल्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले स्थानीय तह निर्वाचनमा महत्वपूर्ण ठाउँमा र समग्रमा पार्टीलाई विजयी बनाउनका लागि लाग्न निर्देशन दिएका हुन् ।
आगामी निर्वाचनहरू महत्वपूर्ण भएको र त्यसमा पनि स्थानीय तहको निर्वाचन झनै महत्वको रहेको ओलीको भनाइ थियो । उनले स्थानीय तहको निर्वाचनलाई विजयी गराउने योजना तर्जुमा गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको बताए ।


स्थानीय तह विकासका लागि महत्वपूर्ण रहेको ओलीको भनाइ थियो । केन्द्रमा बहुमतको सरकार बनेपछि पनि आखिर विकास केन्द्रीय केही आयोजना बाहेक जनताको घरदैलोमा पुर्याउने त स्थानीय तहहरू हुन्, उनले भने,
स्थानीय तहको निर्वाचनमा हामीले महत्वपूर्ण ठाउँहरूमा र आम रूपमा बहुमतसाथको विजय हासिल गर्न सकेनौं भने हामीले बहुमत प्राप्त गर्दा पनि सहज नहुने स्थिति हुन्छ । त्यसकारण हामीले यसमा बहुमत प्राप्त गर्नुपर्नेछ ।’
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एमाले अग्रणी पार्टी हुँदा पनि सत्तापक्षले त्यसको गलत प्रचार गरेको ओलीको भनाइ थियो । ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मूख्य शक्ति हौं, मूलधार हौं । लोकतन्त्रिक आन्दोलनको मूलधार हामीसँग छ । यो अभिभारा हामीसँग छ,’उनले भने ।
ओलीको सम्बोधनसँगै एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पार्टीले लिने रणनीति तय गर्नका लागि बैठक बोलाइएको हो ।