अधिवक्ता गाेविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त

होमल्याण्ड खबर

२०७८ चैत्र २४ गते, बिहीबार १४:०२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई आज बिहीवार मन्त्रीमा नियुक्तका लागि सिफारिस गर्नुभएको हो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । मन्त्री नियुक्त भएको जानकारी आएको र उहाँको शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

नेकपा एमाले विभाजनपछि बन्दी नेकपा (एकीकृत समाजवादी) पार्टी निकट हुनुहुन्छ । यसअघि बन्दीले नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य बन्न अस्वीकार गर्नुभएको थियो ।

बन्दी कानुन मन्त्री बन्ने भएपछि दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न बन्दीको भूमिका रहेको थियो ।