स्थानीय तह निर्वाचन : मनोनयन दर्ता आज र भोलि

होमल्याण्ड खबर

२०७९ बैशाख ११ गते, आईतवार १०:११ मा प्रकाशित

यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका बमोजिम भोलि नै मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र पर्सि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।  निर्वाचनका लागि सबै तयारी व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।