कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएर पागलहरूको प्रलाप हो: ओली

होमल्याण्ड खबर

२०७९ बैशाख १३ गते, मंगलवार १२:०५ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति कडा टिप्पणी गरेका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘राजनीतिक दस्तावेज नभएर बकवास र पागलहरूको प्रलाप’ भएको बताएका छन् ।

‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए ।