बैंकहरू संघीय सरकारको नीतिअनुसार चल्छन्ः अर्थमन्त्री खतिवडा

होमल्याण्ड खबर

२०७५ भाद्र २० गते, बुधबार ११:१२ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभरका बैंकहरू संघीय सरकारको नीतिअनुसार चल्ने स्पष्ट पारेका छन् । करदाता सेवा कार्यालय राजविराजको सोमबार उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले केन्द्रीय नीतिअनुसार बैंकहरू चल्ने भएकाले प्रदेश सरकारले दिएको सार्वजनिक बिदा बैंकहरूमा लागू नहुने स्पष्ट पारेका हुन् ।

मन्त्री डा. खतिवडाले सार्वजनिक बिदाका विषयलाई लिएर संघीय सरकार र प्रदेश सरकारबीच केही विवाद देखिए पनि त्यसलाई चाँडै छलफलबाट समाधान गरिने बताए । उनले प्रदेश सरकारसँग छलफल गरी समस्या समाधान गर्ने आश्वासनसमेत दिए । यही भदौ १० गते जनैपूर्णिमा र भदौ १७ गते कृष्णाष्टमीका दिन प्रदेश नं. २ सरकारले सार्वजनिक बिदा दिँदासमेत बैंकहरू सञ्चालनमा नै रहेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला, योजना तथा कानुनमन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुर कार्यालयमा ताला लगाउँदै धर्नामा बसेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले थोरै कर लगाउँदा पनि धेरै करको दर बढाएको भनेर सामाजिक सञ्जालमा निराधार हल्ला चलाइएको आरोप लगाए । कर जस्तो गम्भीर विषयमा सरकार आफैं सचेत रहेको भन्दै उनले त्यस्ता हल्लाका पछाडि नलाग्ने सम्पूर्ण उद्योगी, व्यवसायीलाई उनले आग्रह गरे ।
राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहिसकेका मन्त्री खतिवडाले ८ वर्षअघि आफू एक निजी बैंकको उद्घाटन गर्न आएका बेला राजविराजमा बैंकहरूको अभाव रहेकोमा अहिले बैंकहरूको संख्या उल्लेखनीय भएकोमा व्यवसायिक वातावरण बन्दै गएको बताए । संविधानमै स्थानीय सरकारलाई वित्तीय स्रोत व्यवस्थापन र परिचालन गर्न सक्ने अधिकार स्पष्ट उल्लेख भएकाले त्यही अधिकार प्रयोग गरी स्थानीय सरकारले कर नीतिमा हेरफेर गरेको चर्चा गर्दै उनले त्यस्तो करबाट प्राप्त राजश्वको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका महानिर्देशक विष्णुप्रसाद नेपाल, अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष किशोर प्रधान, प्रदेश सांसद मनिष सुमनलगायतले पनि आफ्नो मन्तव्य राखेका थिए ।
यसैबीच सप्तरी उद्योग वाणिज्य संघले राजविराजमा गरेको सम्मान कार्यक्रममका अर्थमन्त्री डा. खतिवडालाई जिल्लाको समग्र विकास तथा करसम्बन्धी विषय समेटेर तयार पारिएको १० बुँदे अवधारणा पत्र बुझाएको छ । संघका अध्यक्ष अरुण प्रधानले बुझाएको अवधारणापत्रमा राजविराज भन्सार कार्यालयको स्तरोन्नति, दरबन्दीअनुसारको पदपूर्ति, छोटी भन्सार कार्यालयहरूबाट समय सापेक्ष दर रेटमा भन्सार कटाउने सुविधा, नेपालको तिलाठी र भारतको कुनौली जोड्ने खण्डमा नेपाल र भारत सरकारको संयुक्त पहलमा मैत्री पुलको निर्माण, बैकबाट हाल सुनचाँदी ब्यसायीलाई उपलब्ध गराइँदै आएको ४ किलो सुनको मात्रा बढाई ८ किलो पुर्याउनु पर्ने लगायतका माग र सुझाव समेटिएका छन् ।

यस्तै लामो समयदेखि जिल्लामा भारतीय रुपैयाँको चरम अभावका कारण मर्कामा परेको भन्दै नगरवासीका तर्फबाट पनि मन्त्री खतिवडालाई ध्यानाकर्षणपत्र बुझाइएको छ । राजविराज वडा नं. ५ का अध्यक्ष समिर झाले बुझाएको ध्यानाकर्षणपत्रमा विगतमा राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि काउण्टर सञ्चालन गरी भारतीय नोट सटही गर्दै आए पनि विगत चार वर्षदेखि सो सेवा बन्द गरिएपछि नागरिकलाई मार परेको उल्लेख छ ।
बैंकले सो सेवा बन्द गरेपछि भारतीय रुपैयाँको अवैध कारोबार फस्टाएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा हाल अवैध कारोवारीले भारु नोटको अभावको फाइदा उठाउँदै सयकडा ७ देखि ९ रुपैयाँसम्म बट्टा लिएर नोट साट्न थालेकाले अविलम्ब भारु सटही काउन्टरको व्यवस्था गर्न माग गरिएको छ ।
यसअघि अर्थमन्त्री डा. खतिवडाले रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको निरीक्षण गरेका थिए । उनले उद्योग सञ्चालनमा देखिएका समस्याबारे व्यवस्थापन र उद्योगी व्यवसायीसँग जानकारी लिएका थिए ।