पोखरा र बुटवलका विद्यालयमा दुई दिन पठनपाठन बन्द

होमल्याण्ड खबर

२०८३ आश्विन ८ गते, बिहीबार १०:२५ मा प्रकाशित

सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै पोखरामहानगर र रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

यही असोज ८ गते दिवासत्रका कक्षा बन्द गरिनेछ । असोज ९ गते सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहने नगरप्रमुखस्तरीय निर्णय छ ।

विपद्को जोखिमलाई ध्यानमा राखी विद्यार्थीको सुरक्षाका निम्ति पठनपाठन स्थगन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले अभिभावक तथा विद्यालय परिवारलाई बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नगरप्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सूचना जारी गर्दै असोज ८ र ९ गते विद्यालयहरू बन्द रहने बताएका छन् ।

मौसम प्रतिकूल बन्दै गएको र विपद्को जोखिम बढेकाले पूर्वसावधानी अपनाउनका निम्ति यो निर्णय लिइएको हो । शिक्षा मन्त्रालयले यसअघि आज र भोलि विद्यालयमा बिदा दिन आग्रह गरेको थियो । मन्त्रालयको सोही आग्रहलाई समेत मध्यनजर गर्दै महानगरले आफ्ना क्षेत्रभित्रका सम्पूर्ण विद्यालय बन्द गराएको हो ।

जोखिमबाट बच्नका निम्ति विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन महानगरले आग्रह गरेको छ । “सुरक्षा नै पहिलो प्राथमिकता हो, सतर्क रहौँ, सुरक्षित रहौँ,” सूचनामा भनिएको छ । यी दुई दिनको पठनपाठनलाई पछि अरू सार्वजनिक बिदासँग समायोजन गरिने महानगरले जनाएको छ ।