प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा प्रवक्ता खरेलको माग

होमल्याण्ड खबर

२०८३ आश्विन १३ गते, मंगलवार १०:५३ मा प्रकाशित

सत्तारुढ राष्ट्रिय स्वतन्त्रता पार्टीका प्रवक्तासमेत रहेका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धारको कोषको नाम फेर्नुपर्ने माग दोहोर्‍याएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खरेलले प्रकोप प्राकृतिक भएकाले दैवी प्रकोपका रूपमा संरचना राख्न नहुने बताए । यसअघि पनि संसदमा उक्त माग राखेको तर सरकारले जवाफ नदिएको पनि उनको भनाइ थियो । ‘हामीले पटक-पटक भनेका छौं, विपद् दैवी प्रकोप होइन यो दैवले गराएको होइन, यो प्राकृतिक या मावन सिर्जित हुन्छ भन्ने कुरा हामीले महसुस गरेका छौं,’ खरेलले भने, ‘प्रधानमन्त्रीलाई आग्रह गरेको थिए सदनबाट कि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन प्रधानमन्त्री विपद राहत कोष भनेर त्यो कोषको नामाकरण गरियोस् भनेको थिए । त्यसको जवाफको पर्खाइमा म रहेको छु ।’

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व पनि परिवर्न गर्नुपर्ने सांसद खरेलको माग थियो । सहसचिव स्तरको अधिकारीको नेतृत्वमा प्राधिकरण चल्न नसक्ने उनको तर्क थियो । जलवायु परिवर्तन सम्बन्धमा संसदमा विशेष समिति गठन हुने भएकाले अब उक्त संरचनाबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद खरेलले नेपालमा परेको पछिल्लो वर्षासँगैको विपदका कारण २७ जनाको मृत्यु भएको र ४ जना अझै बेपत्ता रहेको बताए । अर्बौं रकमको क्षति भएको पनि उनले बताए ।