कांग्रेसले माग्यो पूर्व प्रधानन्यायाधीश राणाको पक्राउबारे कानुनी आधार

होमल्याण्ड खबर

२०८३ आश्विन १४ गते, बुधबार १४:४० मा प्रकाशित

नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिइएको घटनाबारे सरकारसँग कानुनी आधार र प्रक्रियाबारे स्पष्ट जवाफ माग गरेको छ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद नीनुकुमारी कर्णले असोज १० गते मध्यरातमा सुरक्षा चुनौतीको कारण देखाउँदै जबरालाई नियन्त्रणमा लिइएको विषयले विधिको शासनमाथि प्रश्न उठाएको बताइन्।

उनले सुरक्षा चुनौती भए राज्यले सुरक्षा प्रदान गर्नुपर्ने भन्दै नागरिकको स्वतन्त्रता नियन्त्रणमा लिने अवस्था आए त्यसको कानुनी आधार र अपनाइएको प्रक्रिया सार्वजनिक गर्नुपर्ने माग गरिन्।

सांसद कर्णले भनिन्, ‘सुरक्षा चुनौती भएकै हो भने राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रतामाथि नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्दछ।’

जबरालाई प्रहरी नियन्त्रणमा राखिएका बेला राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिइएको विषयमा समेत उनले आपत्ति जनाइन्। यस्तो कार्यले लोकतान्त्रिक मूल्य र मानव अधिकारको अवस्थामाथि प्रश्न उठाउने उनको भनाइ थियो। नेपाल बार एशोसिएसनले समेत घटनाप्रति ध्यानाकर्षण गराइसकेको उनले स्मरण गराइन्।

कर्णले व्यक्तिको विगतको पद, धारणा वा सार्वजनिक छविका आधारमा कानुनी अधिकारमा फरक व्यवहार गर्न नहुने बताइन्।

‘देश कुनै व्यक्ति विशेषको हुकुम वा सनकमा होइन, विधि र पद्धतिअनुसार चल्नुपर्छ,’ उनले भनिन्।

उनले कसैले कानुनविपरीत काम गरेको भए निष्पक्ष अनुसन्धान गरी कानुनी प्रक्रियाबाट कारबाही गर्न सकिने बताउँदै राज्य संयन्त्रको प्रयोग गरेर प्रक्रिया मिच्दै नियन्त्रणमा लिने कार्य उचित नहुने धारणा राखिन्।