महाधिवेशनले बिगारेको खुलामञ्चको दुबो कांग्रेस आफैँले रोप्न थाल्यो, चितवनबाट ल्याइयो नयाँ दुबो

होमल्याण्ड खबर

२०८३ कार्तिक ३० गते, आईतवार १४:५४ मा प्रकाशित

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका क्रममा क्षति भएपछि काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको दुबो रोप्ने काम सुरु गरेको छ ।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो संख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनः रोपण तथा संरक्षण गर्न पार्टीका नेताकार्यकर्ता खुलामञ्चमा जुटेका हुन्।

कांग्रेसले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो।

यस क्रममा आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका छन्। नेपाली कांग्रेसले चितवनबाट ल्याइएको दुबो रोपिएको जनाएको छ।

पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ। नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए।

कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले बताए ।

कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन्।

महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतका कारण क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन्।