१ मंसिर २०८३, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसदसहितको प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा निस्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा टोली आइतबार बिहान चीन प्रस्थान गरेको हो।
टोलीले चीन भ्रमणका क्रममा बेइजिङ, हाङचोउ र सिचुवानलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको राजनीतिक सम्बन्ध, आर्थिक सहकार्य, विपद्पछिको व्यवस्थापन तथा दुई देशका सत्तारूढ दलबीचको सम्बन्ध विस्तारका विषयमा छलफल हुने बताइएको छ।


चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो।
यस भ्रमणलाई लिएर राज्यकोषको खर्चबारे प्रश्न उठिरहेका बेला रास्वपा महामन्त्री विपिनकुमार आचार्यले भ्रमणमा नेपालको सरकारी कोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन्।
विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको औपचारिक भ्रमणको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार हवाई यात्रादेखि चीनमा बसाइ र स्वदेश फर्किने व्यवस्थासम्मको सम्पूर्ण खर्च चिनियाँ पक्षले व्यहोर्नेछ।
विदेश भ्रमणको औचित्य, राज्यकोषबाट हुने खर्च र भ्रमणमा सहभागी हुने व्यक्तिको उपयुक्तताबारे प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै आचार्यले त्यस्ता प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने बताएका छन्।
रास्वपाको यो भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तार तथा आर्थिक र कूटनीतिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।