डीपीएलः अत्तरियाद्वारा रुपन्देही पराजित

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १३:२५ मा प्रकाशित

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई पराजित गरेर दोस्रो जित निकालेको छ ।

बिहिबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको हो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र बिक्रम शोबले समान १४ १४ र विनोद भण्डारी १० रनमा बनाए ।

यस्तै कृष्ण कार्की २, भिम सार्की र वसन्त रेग्मी समान एक एक रनमा आउट भए ।

अत्तरियाका लागि सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २ २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रन, रित गौतम, सन्नी पटेल र सुबेन्धु पाण्डेले समान १२ १२ रन बनाए । यस्तै, सन्दीप जोरा २, भुवन कार्की शून्य, जितेन्द्रसिंह ठकुरी ३ र कमलसिंह ऐरीले २ रन बनाए ।

रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा बिक्रम शोबले २ विकेट लिए । बसन्त रेग्मी र पुनित मेहेराले १ १ विकेट लिए ।

जितसँगै अत्तरियाले २ खेलबाट ४ अंक जोडेको छ । रुपन्देहीको भने यो पहिलो हार हो । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्देहीले ४ अंक जोडेको छ ।