नेकपाको सचिवालय बैठक: कार्यदलसँग छलफल गरेर आवश्यक निर्णय लिइने

होमल्याण्ड खबर

२०७५ फाल्गुन ६ गते, सोमबार १६:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदलसँग छलफल गर्ने निश्कर्ष निकाल्दै बैठक सम्पन्न गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे निश्कर्षमा पुग्नुअघि कार्यदलका सदस्यसँगै एकपटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश भएको र बिहीबार कार्यदलका सदस्यसँग थप छलफल गरेर सांगठनिक एकीकरणसम्बन्धि आवश्यक नीति र निर्णय लिइने प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

साङ्गठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेकोले ९ गते बिहीबार बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र साङ्गठनिक एकताको विषयलाई कसरी टुङ्गो लगाउने भन्नेबारेमा आवश्यक नीति र निर्णय गरिने उनले जानकारी दिए।

नेकपामा स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि सबै विषयमा सहमति हुननसक्दा एकता प्रक्रिया लम्बिदै गएको छ ।