१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सिवाईसी अत्तरिया शीर्ष स्थानमा रहँदै क्वालिफायर्समा प्रवेश गरेको छ ।
मंगलबार फाप्ला क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराउँदै अत्तरिया क्वालिफायर्समा पुगेको हो ।
काठमाडौंले दिएको ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अत्तरियाका लागि जय किशन कोल्शावाला सर्वाधिक ३३, कप्तान दिपेन्द्र अविजित २० र प्रेम तामाङले १० रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै ७५ रन बनाएको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३२, योगेन्द्र सिंह कार्कीले १३ तथा अंकित दबासले १० रन बनाए ।
काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका दिपेन्द्र सिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । यस्तै राम नरेश गिरीले २ विकेट लिए ।
अत्तरियासँगको हारसँगै काठमाडौं गोल्डेन्स समेत दोस्रो हुँदै क्वालिफायर्समा पुगेको छ ।