१ मंसिर २०८१, शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।
‘तेस्रो निर्वाचन दिवस–२०७५’ को अवसरमा निर्वाचन आयोगद्वारा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक सङ्क्रमणको अन्त्य, संविधानको घोषणा र तीनै तहको निर्वाचन सम्पन्न गरी देशलाई निश्चित दिशा प्रदान गर्न राजनीतिक दल, नागरिक समाज र सबै नेपालीको उत्साहपूर्वक सहभागिता स्मरणीय रहेको उल्लेख गरिन् ।
मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको बताउँदै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय संकल्प, मुलुकको आर्थिक सामाजिक समृद्धिको संवैधानिक मार्गचित्र अनुकूल भएकाले सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई एकबद्ध भएर अघि बढ्न आग्रह गरिन् ।
लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना तथा सुदृढीकरणमा निर्वाचन आयोगले गरेको योगदानको प्रशंसा गर्दै उनले बदलिँदो अवस्थानुसार आयोगको काम कारवाही अझै प्रभावकारी ढङ्गले सम्पादन हुँदै जाने विश्वास व्यक्त गरिन् । रासस