वर्तमान सरकार पुरै असफल छ : पूर्व प्रधानमन्त्री डा.भट्टराई

होमल्याण्ड खबर

२०७५ फाल्गुन ८ गते, बुधबार १४:३० मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारको पुरै असफल रहेको बताएका छन् ।

बुधबार नयाँ शक्ति पार्टी नेपालले मध्यपहाडि लोकमार्गमा गरिरहेको जनसंवाद यात्राका क्रममा रुकुम पश्चिमको मुसीकोट पुगेका डा. भट्टराईले मुसीकोटमा आयोजित पत्रकार सम्मेलनमा सरकारको कामकाज सन्तोषजनक नरहेको बताउँदै एक बर्षे समिक्षामा पुर्णतः असफल भएको आरोप लागाएका हुन् ।

सरकारले सुशासन कायम गर्ने कुरामा सरकार चुकेको भन्दै भट्टराईले यो सरकारको पालामा भ्रष्ट्राचार, अनियमितता बढेर गएको बताए । उनले भने, ‘वर्तमान सरकारले न शुसासन कायम गर्न सकेको छ, न त अनियमितता रोक्न नै सकेको छ ।

बिना पूँजी खर्च गरेर गर्न सकिने सामान्य काम पनि सरकारले गर्न सकेको छैन, यदि इच्छा शक्ति भयो भने ती काम गर्न कुनै गाह्रो नै छैन् । वाईडबडि विमान, बुढिगण्डकी जलविद्युत आयोजना, एनसिएल कर प्रकरण, ३३ किलो सुन काण्ड, निर्मला बलात्कारको घटना लगायतमा सरकार टुलुटुलु हेरेर बसिरहेको छ ।’

आफु अर्थमन्त्री हुदाँको परिकल्पना गरिएको मध्यपहाडी लोकमार्ग आसपासका जनताको जनजीविका र यहाँको राजनैतिक अवस्था अवलोकन गर्न यात्रामा निस्केको बताउँदै उनले युद्ध सुरु गर्नुभन्दा पहिला पनि म यही तरिकाले घुमेको बताए ।

जनसंवाद यात्राका क्रममा मध्यपहाडी क्षेत्रका स्थानीय सरकार र तिनको अवस्थाबारे आफूले अन्तरक्रिया गरेको बताउँदै डा. भट्टराईले वर्तमान स्थानीय सरकारबाट जनता असनतुष्ट पाएको बताए ।