१० मंसिर २०८१, सोमबार
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको छ।
नेपालका लागि कविता कुवँर र नरी थापाले २/२ विकेट लिए भने करुना भण्डारी र रुविना क्षेत्रीले १/१ विकेट लिए।
१२५ रनको लक्ष्यसहित घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डले गत महिना महिला टि–२० स्म्यास प्रतियोगितामा नेपाललाई नौ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
यस्तै थाइल्याण्ड पनि दोस्रो जितको खोजीमा रहेको छ । थाइल्याण्डले पहिलो खेलमा चीनलाई छ विकेटले पराजित गरेको थियो । दुई खेलमा दुई जितका साथ युएई अङ्क तालिकाको पहिलो स्थानमा छ । समान एक जित निकालेको नेपाल र थाइल्याण्ड रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।