विश्वकप छनोटमा हङकङलाई हराउँदै नेपाल तेस्रो स्थानमा

होमल्याण्ड खबर

२०७५ फाल्गुन १२ गते, आईतवार १६:०० मा प्रकाशित

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत आइतबारको खेलमा नेपालले हङकङलाई पराजित गरेको छ ।

थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा आइतबार भएको लिग चरणको आफ्नो चौंथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १८.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालका लागि अप्सरी वेगमले सर्वाधिक २४ र सरिता मगरले १६ रन जोडे ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो। हङकङका लागि मरीना लाम्पलोलाई १९, यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडिन् ।

हङकङलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।

आइतबारको जितसँगै नेपालको ४ खेलबाट ६ अंक भएको छ । नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।

चार खेलमा तिन जित हात पारेको नेपाल अंक तालिकाको तेश्रो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।