१ मंसिर २०८१, शनिबार
नेता रामचन्द्र पौडेलसहित १२ नेताको असहमति हुँदाहुँदै पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिबाट पारित पाँच प्रस्ताव बहुमतबाट पारित गरेको छ।
महासमिति बैठकका सुझाव समेटेर विधान, राजनीतिक, सांगठनिक, आर्थिकसहितका प्रस्ताव केन्द्रीय समितिको आइतबारको बैठकले बहुमतका आधारमा पारित गरेको हो।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले महासमिति बैठकमा पेस भएका प्रस्ताव केन्द्रीय समितिले बहुमतबाट पारित गरेको जानकारी दिए। ‘केही नेताले विधानका केही बुँदा संशोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो,’ घिमिरेले नागरिकसँग भने, ‘तर केन्द्रीय समितिले सबै प्रस्ताव बहुमतबाट पारित गरेको छ।
पारित सबै प्रस्ताव अब कार्यान्वयनमा जान्छन्।’
केन्द्रीय समिति बैठकमा नेता पौडेलसहित असन्तुष्ट पक्षका १२ नेताले पार्टी सभापतिसहित केन्द्रीय सदस्य तल्लो तहबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा नराखिएको भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता पौडेलले महाधिवेशनमा प्रतिनिधि बन्न सबै नेता बुथबाट नै निर्वाचित भएर आउने प्रावधान विधानमा राख्ने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसारको विधान बन्नुपर्ने अडान असन्तुष्ट पक्षले राखेको समाचार आजको नागरिक दैनिकमा उल्लेख छ ।
तर संस्थापन पक्ष यसमा सहमत नभएपछि १२ नेताले बहुमतबाट पारित प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। ‘नोट अफ डिसेन्ट’ लेख्नेमा पौडेल, सीतादेवी यादव, कृष्णप्रसाद सिटौला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, प्रदीप पौडेल, दिलेन्दप्रसाद बडू, नवीन्द्रराज जोशी, गगनकुमार थापा, चन्द्र भण्डारी र गुरुराज घिमिरे छन्।