‘विप्लव’ निकट पत्रकार संगठनको नाम परिवर्तन, अब जनपत्रकार संगठन नेपाल रहने

होमल्याण्ड खबर

२०७५ फाल्गुन १४ गते, मंगलवार १७:०२ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरेर जनपत्रकार संगठन नेपाल राखेको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले पुरानो नाम परिर्वतन गरि जनपत्रकार संगठन नेपाल राखेको बताएका हुन् ।

गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयानुसार संगठनको नाम परिवर्तन गरिएको डुम्रेको भनाई थियो ।

उनले भने,‘कानुनी र प्राविधिक कारणले गर्दा हामीले संगठनको नाम फेर्नुपरेको हो ।’ पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको अध्यक्ष डुम्रेले जनाए ।

उनले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने जनाए । उनले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिनसमेत आग्रह गरे ।