महिला विश्वकप छनोटः नेपालले कुवेतलाई ३० रनले हरायो

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार १२:३० मा प्रकाशित

थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

बुधबार बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको हो ।

नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनायो ।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२/१२ रन बनाईन् ।

नेपालका कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन । यस्तै, नेरी थापा र कविता कुँवरले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।

नेपालको लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिईन् । कप्तान रुबिना क्षेत्रीले २२, नेरी थापाले १९, काजल श्रेष्ठले १८, इन्दु बर्मा र रोमा थापाले समान ७र७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ कुवेतकी मार्यम ओमर र प्रियादा मुरलीले २/२ विकेट लिए ।

नेपालले प्रतियोगिताको ६ खेलमा ५ जित र १ हार सहित १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

अब अन्तिम खेलमा यूएई र थाईल्यान्डको खेलपछि शीर्ष टोलीको छिनोफानो हुनेछ । नेपाल दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त भैसकेको छ ।