१ मंसिर २०८१, शनिबार
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको अन्त्येष्टि आज गृहनगर पोखरामा हुने भएको छ ।
अधिकारीसहित दुर्घटनामा निधन भएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जली सकिएपछि अधिकारीको शव अन्त्येष्टिका लागि पोखरा लगिनेछ ।
अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा १२ बजेदेखि ४ बजेसम्म राखिने छ ।
प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।
अधिकारीलाई श्रद्धाञ्जली दिन र शव यात्रामा सहभागी हुन सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, भूमिसुधारमन्त्री पद्मा अर्याल लगायतका नेता आउँदै छन् ।