१ मंसिर २०८१, शनिबार
राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले समाजमा मात्रै नभै संसदमा पनि महिला हिंसा हुने गरेको बताएकी छन्।
शुक्रबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले समाजमा मात्र नभएर संसदमा पनि महिला हिंसा हुने गरेको बताएकी हुन्।
उनले भनिन्, ‘संसदमा महिलालाई शोपिस बनाइयो। अब हामीलाई समानुपातिकबाट ल्याउनुपर्दैन। प्रत्यक्षमा चुनाव लड्न तयार छौं ।’
बजेट वितरणमासमेत महिला सांसदलाई विभेद गरिएको आरोप लगाउँदै उनले चुनावकै बेला समानुपातिकतर्फ राख्ने अनि बजेट दिने बेलामा प्रत्यक्षतर्फका सांसदलाई धेरै दिने गरिएको गुनासो गरिन्।
पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि पर्याप्त नभएको उनको तर्क थियो। आरक्षण र ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै चौधरीले स्थानीय निकायमा प्रमुख जति सबै पुरूष र उपप्रमुखजति महिलालाई दिइएको गुनासो गरिन्।
चौधरीले निर्मलाका बलात्कारीलाई सरकारले नै लुकाएको आरोप लगाइन्। ‘निर्मला पन्तको हत्यारा पत्ता लागिसेकेको छ। तर, सरकारले लुकाएको छ। गरिब र निमुखालाई मात्रै नियम लाग्ने हो ?,’ उनले भनिन् ।
बलात्कारीलाई फास्ट ट्रयाकबाट कारबाही गर्ने व्यवस्थासहितको कानुन बनाउनुपर्नेमा चौधरीको जोड थियो।